बाँकेको सुक्खाग्रस्त नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै सर्वसाधारणहरू राहत माग्न गाउँपालिका पुग्न थालेका छन् । खडेरीका कारण त्यहाँको खेत बाँझै छ । सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् ।
गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरी सुरु भएको बताए । ‘भोकमरीबाट पीडित किसानहरू अहिले ठूलो संख्यामा गाउँपालिका आउने गरेका छन् ।
मेरो घरमै पुगेर पनि उनीहरूले आफ्नो दु ख सुनाउँछन्,’ उनले भने, ‘संघीय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुस्खद् कुरा हो ।’ संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए ।
नरैनापुर गाउँपालिका ६ गंगापुरका कृष्णावती मौर्यले सर्वसाधारणहरूलाई छाकको जोहो गर्नै धौधौ परेको बताए । ‘घरमा भएको अनाज सबै सकियो खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छटपटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’
नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको अभिलेख छ । सुक्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै रहेका छन् ।
गाउँपालिकाले नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३र३ वटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो ।