देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।
कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।
पश्चिमी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित वाग्मती, प्रदेश एक, मधेस प्रदेशमा पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिउँसोपख भारी वर्षाको सम्भावना छ।