गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गरेको छ । कुकुरलाई व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान अन्तर्गत गाउँपालिका भित्रका झण्डै ६० वटा कुकुरलाई बन्ध्याकरण गरिएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाले कुकुरमा बन्ध्याकरण अभियान नै चलाएको हो । कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, गाउँघरका अरु पशुचौपायालाई टोक्ने समस्या तथा रेबिज रोगको जोखिम रोकथाम हुने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो ।
विगतमा कुकुरको समूह नै गाउँमा पसेर घरमा पालेका पशुचौपायालाई टोक्ने र मार्ने गरेपछि समस्या बढ्दै गएको थियो ।
पशुचौपायालाई टोकेर हैरान पार्न थालेपछि स्थानीय बासिन्दाले कुकुर नियन्त्रण गर्न गाउँपालिकालाई निरन्तर दबाब दिएका थिए ।