सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई दाङ प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुनः पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर ओलीले जानकारी दिए ।
उनी प्रहरीले बिहिबार अपरान्ह म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेको समयमा दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन ।
म्याद थप नहुँदै थुनुवा भागेका अभियुक्त विश्वकर्मालाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही १७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।