नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टीभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।
मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि ठाउँमा विवाद भएको सूचना नपाएको बताउनुभयो । उहाँले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए पनि यो पटक तीन जनाभन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताउनुभयो । तीन जनाभन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै अर्को निर्णय हुनसक्ने बताउनुभयो ।
उहाँले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गर्नुभयो । उहाँले जिल्लाबाट सिफारिस हुँदैमा टिकट पाउने पक्का भयो भनेर नसोच्न पनि आग्रह गर्नुभयो । पाण्डेले पार्टीको सचिवालयले फाइनल गरेपछि मात्रै उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।