दशैँ तिहार जस्ता मुख्य चाडपर्व नजिकिएका छन् । दशैँका बेलामा ओहारदोहोर गर्ने यात्रु र गाडीको संख्या पनि धेरै हुन्छ । तर अहिले देशका मुख्य राजमार्ग र सडकको अवस्था खराब छ
यसवर्षको मनसुनी वर्षाले मुख्य राजमार्गमा निरन्तर पहिरो झर्ने गरेको छ । पूर्व(पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा बेला बेला लेदोसहित पहिरो झरिरहेको छ । यस्तै, मुग्लिन(नारायणगढ र सिद्धार्थ राजमार्गको पाल्पा(बुटबल खण्डमा पनि जोखिम छ । मध्यपहाडी लोकमार्ग, कोशी राजमार्ग, कर्णाली राजमार्ग लगायतका सडकका ठाउँ ठाउँमा पनि पहिरो तथा कटानले क्षति पुर्याएको छ ।
विगतमा समयमै सडक मर्मत नहुँदा यात्रुले निकै सास्ती भोगेका थिए । यसवर्ष पनि उस्तै नियति भोग्नुपर्ने भएको छ । मनसुन अवधि बाँकी रहेकाले नयाँ ठाउँमा पनि पहिरोको जोखिम हुने हुनाले सबैतिरका सडक चुस्त बनाउन नसकिने सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार दशैँसम्म केही सडकमा खाल्डाखुल्डी मर्मतको काम निरन्तर हुने तर पूर्णरुपमा मर्मतको काम सकिने छैन । सम्भव भएसम्म खाल्डाखुल्डी पुर्ने काम गर्ने उहाँले बताउनुभयो । मनसुनी अवधिमा गरिएको काम दिगो नहुने भएकाले ठूला मर्मतका काम तत्काल गर्न सक्ने अवस्था नरहेको सडक विभागका उपमहानिर्देशक अधिकारले बताउनुभयो ।
पहिरोका कारण लमजुङको उदीपुर–डुम्रे–बेँसीसहर, बेँसीसहर–चामे सडक अझै बन्द छ । त्यस्तै बाजुराको साँफेबगर–मार्तडी सडक पनि बन्द रहेको छ । अहिले बन्द रहेका सडकमा कम्तिमा दशैँ तिहारलाई केन्द्रित गरी सम्भव भएसम्म आवागमन नरोकिने गरी मर्मत गर्ने तयारी भैरहेको विभागले जनाएको छ ।