लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । जिल्लाकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् ।
ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपािलका सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताउनुभयो ।