केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरामा लाखौँको क्षति पुर्याएको छ ।
अविरल वर्षाका कारण घ्युरस र मानाखोलामा पहिरो खस्दा १० वटा कुलोको बाँध र दुईवटा खानेपानीको मुहानमा क्षति पुगेको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभयो । डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान र कुलोको बाँधमा क्षति पुर्याएको छ ।
उहाँका अनुसार पहिरोले गहतेरा गाउँमा आएको दाङवाङ खानेपानी आयोजनाको दुईवटा बाँध र मुहानमा पूर्णरुपमा क्षति गर्नुका साथै पानीका पाइपहरु बगाएको छ । पहिरोले घ्युरस खोला र मानाखोलाको बाँध पनि बगाएको छ । खानेपानी आयोजनामा क्षति पुग्दा १ सय २५ घरधुरी पानी खानबाट बञ्चित भएका छन् । वडा अध्यक्ष डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान बगाउँदा करिव १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै पहिरोले बंगलाचुली ४ को मानाखोला र सुकाखोलामा रहेका १० वटा कुलोका बाँधहरु पूर्णरुपमा भत्काएको छ ।
पहिरोले कुलोका बाँधहरु भत्काउँदा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभयो । कुलोका बाँधहरुमा क्षति पुगेपछि कृषकले धान खेतमा सिँचाइ गर्न पाएका छैनन् ।