पहिरोका कारण अवरुद्ध मुग्लिन(नारायणगढ सडकखण्ड खुलेको छ । अघि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।
डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर, अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो खस्न थालेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।