प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकास बाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन् ।
प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्ध रुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए ।
बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए ।
मुलुक सङ्घीयतामा प्रवेश गरे सँगै सङ्घीय सरकार सँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । उनले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनु पर्ने जोड दिएका थिए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गरे ।
उनले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पु¥याउने बताए । गृहमन्त्री खाणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताए ।
उनले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गरेका सो अवसरमा जानकारी दिए । भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलागि समेत सहज हुने उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले निर्माण सम्पन्न सम्मेलन केन्द्रबाट अब राज्यको लगानी प्रतिफलमा कसरी उठाउने, बहुआयामिक उपयोगिता कसरी गर्ने, आम नागरिकलाई यस सँग जोडेर अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा योजना बनाउन निजी क्षेत्रका आम उद्योगी व्यवसायीलाई अनुरोध समेत गरे । यस क्षेत्रको विकासका लागि सरकारले दाउन्नेमा सुरूङमार्ग यसै वर्ष देखि सुरु गर्ने तथा शिद्वबाबामा सुरूङ मार्ग अविलम्ब निर्माणको अवस्थामा पुगेको उनले जानकारी दिए ।
सरकारले अस्थायीरूपमा बसेका नागरिकलाई जमिनको स्वामित्व दिने विषयमा भूमि आयोगबाट छिट्टै पुर्जा दिने व्यवस्था मिलाउने र भूमिहीन, पिछडिएका, दलित नागरिकलाई बसोबासको व्यवस्था मिलाउन सङ्घीय सरकारको तर्फबाट भूमि आयोगको माध्यमबाट बसोबासको व्यवस्था मिलाउने विषयमा सरकार लागिपरेको मन्त्री खाणले बताए ।