सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ ।
बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । प्रसूतिका लागि भर पर्दो मानिएको लुम्बिनीमा बेड अभाव भएको गुनासो आए पछि १५० शैय्याको प्रसूति भवन निर्माण गरिएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाइ रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेको हो ।
कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसूति भवनले बुटवल र यस आपासका बिरामीहरूलाई ठूलो राहत पुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे । अस्पतालले बिरामीहरूलाई सहज रूपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मुटु, मृगौला तथा क्यान्सर जस्ता रोगका कारण बर्सेनि ५ लाख नेपालीहरू गरिबीको रेखामा पर्ने गरेको तथ्यांक देखिएको बताउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए । उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालकाअनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिन्छन् ।
अपाङ्गतामैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इमर्जेन्सी, आइसीयू, एनआइसीयू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेसन रुम, मातृशिशु वार्ड, सम्पूर्ण बच्चाहरूको खोप कक्ष लगायत कक्षहरू बनाइएको छ ।