सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयको बारेमा छलफल हुनेछ। कांग्रेसले पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उप प्रमुख र अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको छ।
बैठकमा संघ तथा प्रदेशको सिट बाँडफाँटको विषयमा समेत छलफल हुने छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ। कार्यदलको संयोजकमा कृष्ण प्रसाद सिटौला चयन भएका छन्।
कार्यदलमा कांग्रेसबाट सिटौलासहित ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ। प्रतिनिधि सभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्।