रुपन्देहीको तिलोत्तमा(१७ की ३० वर्षीय कुमारी चौधरीले आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
चौधरीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरी विरूद्ध जबरजस्ती करणी गरेको उजुरी दिएकी हुन्। मोहन तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरीका छोरा हुन्।
न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख जागेश्वरी कै बुहारी न्याय खोज्दै प्रहरीमा पुगेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जाहेरी दर्ता भएको बताउँ दै अनुसन्धान गर्ने बताउनु भयो।
जाहेरीमा उपप्रमुख चौधरीका छोरा मोहनले साउन १५ गते देखि पटक पटक आफू माथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै बुहारी वर्षा कुमारीले दर्ता गरेको जाहेरीमा उल्लेख छ।
गत साउन १४ गते राति मदिरा पिएर आएका उनका पति मोहनले कुटपिट गरेको उनले दाबी गरेकी छन्।
वर्षाले केहि दिन अघि श्रीमान् मोहनले दैनिक रूपमा लागू पदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिएकी थिइन्।
श्रीमानले कुटपिट गरेर वर्षाको शरीरमा घाउ चोट समेत लागेको छ। मोहनले दैनिक लागू पदार्थ सेवन गर्ने, गाँजा भर्न लगाउने, शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासू ससुराले समेतले बेवास्ता गरेको वर्षाले प्रहरी समक्ष बताएकी छन्।
गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घर खर्च नदिने, यातना दिने र सासू जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको प्रहरी समक्ष बताएकी छन्।