व्यवसायिक कृषि खेतीलाई प्रवर्द्धन गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १ सय २८ कृषकलाई कृषि उपकरण उपलब्ध गराएको छ। लागत सहभागितामा उनीहरुलाई नगरपालिकाको कृषि शाखा मार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो।
नगरपालिकाले ५० प्रतिशत अनुदानका ६५ वटा मिनी टिलर, ७० प्रतिशत अनुदानका ५ हर्स पावरको २८ वटा पम्पसेट र २ हर्स पावरको ३५ वटा मोटर उपलब्ध गराइको छ। मेयर केशवकुमार श्रेष्ठले व्यवसायिक कृषि खेतीलाई बढावा दिन सो सामग्री उपलब्ध गराइएको बताए।
कृषि उत्पादनमा वृद्धि गर्न नगरपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको भन्दै अब कृषि बिमाका कार्यक्रम पनि आवश्यक रहेको उनको भनाइ छ। श्रेष्ठले कृषकका लागि सहज वातावरणको सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको उल्लेख गरे।
परम्परागत कृषिलाई त्यागेर आधुनिकिरणतर्फ लैजानु पर्ने उनको जिकिर छ। नगरपालिका कृषि शाखा अधिकृत देवीराम बेल्बासेले लागत सहभागिताका लागि जारी सूचनाका आधारमा परेका निवेदनमा छनौट गरी उनीहरुलाई सो सामग्री उपलब्ध गराइएको बताए।उनले सिँचाइ अभावमा कृषकहरु मारमा परेका बेला कृषि उत्पादन बढाउन आफूहरुले यो कार्यक्रम गरेको उल्लेख गरे।