सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन्। यसरी हुने निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने पनि नेताहरूले दाबी गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताका हुन्।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद् सुचारु नहुने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए।
उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद् नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क सुनाए।वरिष्ठ नेता पौडेलले भने, ‘मैले त प्रधानमन्त्रीलाई भनिसकेँ–चाँडै संसद् सुचारु गर्नुपर्यो वा चाँडै संसद् ल्याउनु पर्यो।
त्यस्तै, उनले एमसिसी पास भइसकेको अवस्थामा अब देशलाई अलमलमा राख्न नहुने बताए। एमसिसी पास भएसँगै मुलुकको विकास र समृद्धिले फड्को मार्नेसमेत उनले दाबी गरे।
त्यस्तैगरी, महामन्त्री थापाले एमालेले संसद् चल्न दिएन भने मंसिरअघि नै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शानदार ढंगले चलाउने बताए। उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुने पनि दोहोर्याए।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो। त्यसपछि आम चुनाव हुन्छ। एमालेले संसद् चल्न दिएन भने मंसिरअघि नै चुनाव हुन सक्छ। हामी निर्वाचनमा जाने हो। शानदार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो।’
कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लड्ने संकेत गरे। प्रचण्ड, माधव नेपालहरूलाई चमेराको संज्ञा दिँदै उनले उनीहरूले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताए।
उनले भने, ‘यो चुनावी वर्ष हो। यो चुनावी मैदानमा कांग्रेसरूपी हात्ती लम्कँदै गर्दा खेरी हात्तीको ठूलो कान देखेर चमेराहरू ओत लाग्न खोज्दै छन्। हात्तीको कानमा ओत लाग्ने चमेराहरूको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रै सँग थाहा छ। चमेराले हात्तीलाई सहयोग गर्न सक्दैन। दुर्गन्धित बनाउन सक्दछ, हात्तीको कानमा। त्यसैले हाम्रो रोडम्याप एकदम स्पष्ट छ। यही रोडम्यापअनुसार नेपाली कांग्रेसरूपी हात्ती अगाडि बढ्छ। मुसाले बाटो काट्दैमा केही फरक पर्दैन।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले रूपान्तरित कांग्रेस नै मुलुकको भरोसा भएको दाबी गरे। उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकताबद्ध हुने र मुलुकलाई विकल्प दिने गरी अघि बढ्ने संकल्प पनि गरे।
महामन्त्री शर्माले भने, ‘रूपान्तरिक भएको कांग्रेस मुलुकको भविष्य हो। यही पुरानो कांग्रेसलाई रूपान्तरित गरेर मुलुकलाई विकल्प दिने हो। किनभने कांग्रेस नै मुलुकको भरोसा हो।’
कांग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा कांग्रेस एकताबद्ध भएको कुरा पास भएको एमसिसीले पनि पुष्टि गरेको स्मरण गराए। गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउने गल्ती गर्न नहुने पनि उनको सुझाव छ।